ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, August 27, 2009

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग चर्कियो


विमानस्थल बन्द

काठमाडौं ११ भदौं(दैनिकी)

देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग चर्किएपछि विमान अवतरण र उडानमा समस्या भएको छ । धावनमार्ग चर्किएपछि नेपाली आकासमा भित्रिइसकेको थाई एयरलाइन्सको विमान फर्काइएको छ भने पाकिस्तानको पिआइएसहित कोरियन एयर, एयर अरेबिया, जिएम जी, जेट लाइटलाई नेपाली हवाइ आकासबाटै फर्काइन थालिएको छ ।
विमानस्थलको धावनमार्गको ट्याक्सी वे को ४ नम्बर नजिकै एउटा खाल्डो देखिएपछि मर्मतका लागि ३ घण्टा विमानस्थल बन्द गरिएको छ। विमानस्थल १२ बजे देखि ३ बजे सम्मका लागि बन्द गरिएको हो। यद्यपि खाल्डोबारेको सूचना ११ बजेनै थाह भएको थियो ।
अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिए पनि आन्तरिक वायुसेवालाई भने उत्तरतर्फबाट उडान र अवतरण गराइएको विमानस्थल स्रोतले बतायो। 'धावनमार्गको ३ हजार मिटरमध्ये १४०० मिटरमा उडान र अवतरण गर्न सकिने भएकाले आधा घण्टाका लागि मात्र उडान र अवतरण रोकिएको भए पनि उत्तर तर्फबाट उडान अवतरण गराइने छ'- स्रोतले भन्यो ।
अन्तर्राष्ट्रिय उडानका लागि भने नोट्याम (नोटिस टू एयरम्यान) सूचना जारी गरिएको छ । यो सूचना नेपालको एयर सञ्जालरहेका विश्वभरका विमानस्थलमा जारी हुन्छ ।



source:[http://dainikee.com/newsdetail-9857.html]


Wednesday, August 26, 2009

आजको कार्टुन



Source:[http://www.nagariknews.com/modules/mod_junewsultra/img/img.php?src=../../../images/stories/cartoons/phalano_august26.jpg&w=292&h=0&q=100]

कोसी अर्को स्थानमा फुट्ने खतरा

जयकृष्ण यादव/इनरुवा

कोसी नदीको बाँध फेरि नयाँ स्थानमा फुट्ने खतरा बढेको छ । सप्तकोसी गत वर्ष भदौ २ गते फुटेको स्थानभन्दा एक किलोमिटर दक्षिणमा पूर्वी तटबन्धको उचाइ कम रहेको तथा झन्डै चार किलोमिटर उत्तरमा फुट्ने खतरा बढेको स्थानीयवासीहरूले बताएका छन् ।

लगातारको वषर्ा र बालुवा थुपि्रएर कोसीको सतह माथि उठेकाले कोसीमा तीन लाख क्युसेकभन्दा बढी पानीको बहाव भएको खण्डमा पुरानो स्थानमा फुटेको पश्चिम कुशाहा गाविस-४ देखि एक किलोमिटर दक्षिणमा पूर्वी तटबन्ध तल हुने अवस्था भएकाले कोसीको बाँध माथिबाट बग्ने अवस्था रहेको स्थानीयवासीले बताएका छन् ।

अहिले बेलैमा पश्चिम कुशाहा गाविस-४ देखि एक किलोमिटर दक्षिण हरिपुरसम्ममा पूर्वी तटबन्धको उचाइ बढाउने प्रयास नभए कोसी फुट्ने खतरा बढेको जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरका इन्जिनियर मोहन भट्टराईले जानकारी दिनुभएको छ ।

यता कोसीको पानीको बहावले महेन्द्रनगरस्थितको पुथ्लेगौँडामा ११ र १२ नम्बरको स्पर कटान गरेर कोसी फुट्ने खतरा बढेको स्थानीयवासीहरूलाई उद्धृत गर्दै हरिपुरका सञ्जय पण्डितले बताउनुभयो ।

अहिले खतरा देखिए पनि आत्तिने अवस्था नरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्यायले बताउनुभयो । उहाँले यसबारेमा भर्खरै सिँचाइमन्त्री बालकृष्ण खाँडले निरीक्षण गर्नुभएको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार कोसीमा देखिएको सम्भावित खतरा र यसको रोकथामबारेमा भारतीय पक्षसँग छलफल भइरहेको छ ।

यसअघि गएको असार १९ गते कोसीमा एक लाख ९० हजार ५४६ क्युसेक प्रतिसेकेन्डसम्मका दरले पानीको बहाब हुँदा १२ नम्बर ढोका क्षतिग्रस्त भएको थियो तर सो ढोकाको मर्मत भइसकेको छ ।

पानीको बहाब घट्दै गएपछि कोसीको प्रकाशपुरस्थित राजाबास, महेन्द्रनगर, ब्राहाक्षेत्रलगायतका स्पर कटान सुरु भएको र विभिन्न स्थानका स्परहरू जोखिममा रहेको स्थानीय धर्मेन्द्र मेहताले बताउनुभयो ।

पानीको सतह नदीमा बढेसँगै तटबन्ध र स्परहरू जोखिममा रहेको पाइएकाले सुनसरीका हरिपुर, श्रीपुर, प्रकाशपुर र पश्चिम कुशाहाका स्थानीयवासीहरू अझै त्रसित बनेका छन् ।

कोसीमा पानीको बहाव बढ्ने, घट्ने र कटान भएका कारणले त्रसित रहेका स्थानीयवासीहरूले ब्यारेजको सबै ढोका निरन्तर खोलेर बालुवा बगाउनुपर्ने सुझाव दिँदै ५२ वटै ढोका खोल्नुपर्नेर् माग गरेका छन् ।

कोसीको पूर्वी तटबन्ध सुनसरीको महेन्द्रनगर र प्रकाशपुरको राजाबास जोखिममा रहेकाले तटबन्धको छेउमा पानी आउन नदिन तथा पानीकोबहाव रोक्नका लागि कटान नियन्त्रण गर्न प्रकोपाइन निर्माण गरी राखिएको छ ।

राजाबास आसपास क्षेत्रमा करिब तीन सय मिटर दूरीमा कोसी नदीको पूर्वी तटबन्धछेउमा पाँच/पाँच मिटरको फरक दूरीमा ६० बढी प्रकोपाइन राखिएको जनाएको छ ।

प्रकोपाइनले पानीको बेग, माटो, लेदो र बगेर आएका काठपातलगायतलाई रोक्ने गरेको प्रकाशपुर युवा जमातका अध्यक्ष प्रदीप राईले जानकारी दिनुभएको छ ।

सप्तकोसी नदीको पूर्वी तटबन्ध भत्केर गाउँ पस्दा गत वर्ष यहाँका हजारौँ सर्वसाधारण घरवारविहीन भएको बेला कोसी ब्यारेजको पुलले अर्को विपत्ति ननिम्त्याउला भन्नसक्ने अवस्था नरहेकाले त्रास पैदा भएको स्थानीयवासी बताउँछन् ।


Source:[http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=23411&cat_id=14]


डाक्टरले सुरु गरे फोहोरबाट मोहर बनाउन


सविता शर्मा

भदौ ९ गते । राजधानीको फोहोरलाई मोहर बनाउने चर्चा चलेको धेरै समय भइसक्दा पनि खासै काम भएको छैन तर निजी प्रयासमा कालीमाटीको तरकारी बजारबाट निस्कने फोहोरमैलाबाट प्राङ्गारिक मल बनाउने कार्य थालिएको छ ।

सानोतिनो काम गर्न नरुचाउने आम नेपाली प्रवृत्ति छ । त्यसमा पनि शिक्षित व्यक्तिले त फोहोरमैला छुनै हुन्न भन्ने मान्यतालाई तोड्दै प्राध्यापन पेसामा संलग्न डा. चन्द्रविक्रम बुढाथोकीले कीर्तिपुरको चोभारमा यस्तै फोहोरबाट मल बनाउन नेपाल कल्पवृक्ष नामक कारखाना चलाउनुभएको छ ।

कालिमाटी तरकारी बजारबाट निस्कने करिब १५ टन फोहोरबाट प्राङ्गारिक मल बनाउने सार्वजनिक निजी साझेदारीको उदाहरणको रुपमा गत वर्ष माघमा योजना सुरु गरिएको हो । यस कारखानाले मासिक १५ टन फोहोर खपत गर्ने गर्छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समिति, सहरी वातावरणका लागि सार्वजनिक निजी साझेदारी कार्यक्रम -यूएनडीपी) र नेपाल कल्पवृक्षबीच समझदारी भएको थियो ।

यस्तो फोहोरबाट मल बनाउने तरिका खासै जटिल छैन । नसड्ने खालका र मलका लागि अनुपयुक्त वस्तु हटाएर बाँकीलाई टुक्रा टुक्रा बनाएर काट्ने, पराल, तीतेपाती, केराको पात सबैको टुक्रा बनाएर मिसाएर प्रारम्भिक कच्चा पदार्थ तयार गर्ने बुढाथोकीले बताउनुभयो ।

मललाई चाँडो कुहाउन र मलिलो बनाउन बुढाथोकीले आफैंले पालेको बङ्गुरको मल ट्राइकोडर्मा भन्ने औषधि हाल्ने गर्नुहुन्छ । उहाँका अनुसार बङ्गुरको दिसालाई घोलेर बनाइएको सलरी प्रत्येक नौ इन्चको तहमा हाल्दै एउटा तहमा पुर्‍याएर जुटको बोराले छोपेपछि 'ट्राइकोडर्मा'ले चाँडै कुहाउने र बङ्गुरको मलले ताप दिने काम गर्छ ।

यसरी छोपेर राखेको मललाई सातदिनको फरकमा पल्टाउँदै आवश्यकता अनुसार सुख्खा भए पानी र बढी ओसिलो भए सुख्खा कुरा हालिदिनुपर्छ । यही क्रममा एक महिनामा एक थरिको मल बन्छ भने फेरि त्यही मलमा पानी, चुना, कालीमाटी मिसाइ चिसो बनाएर थप एकमहिनामा ट्रकोडर्मा मल बन्छ । सामान्य मलको प्रतिकिलो पन्ध्र रुपियाँ र ट्रकोडर्माको २० रुपियाँ पर्ने बुढाथोकी बताउनुहुन्छ ।

ट्राइकोडर्मा भनेको जमिनबाट निकालिने एक प्रकारको ढुसी भएको र मल बनाउने प्रक्रियामा यसले चाँडो कुहाउने काम गर्दछ । तरकारीको जरामा र डाँठमा लाग्ने गाँठे रोगलाई नियन्त्रण गर्ने उहाँको भनाइ छ । यो सरल र वातावरण मैत्री विधि भएको र यो प्रक्रियाबाट मल बनाउँदा दुर्गन्ध आउँदैन

यस्ता कार्यक्रमलाई विस्तार गर्न सके किसानहरूले सस्तो मूल्यमा प्राङ्गारिक मल पाउने, फोहोर व्यवस्थापन गर्न सजिलो, वातावरपण सफा राख्न पनि सहयोग पुग्नुका साथै रासायनिक मल प्रयोगमा कमी आउन सक्ने बढाथोकीको भनाइ छ ।

कल्पवृक्षका सञ्चालक चन्द्रविक्रम बुढाथोकीले आफैंले उत्पादन गरेको मल प्रयोग गरेर तरकारी खेती गर्नु भएको छ । फोहोरका कारण आक्रान्त हुने राजधानीमा फोहोरलाई मोहर बनाउने सानै प्रयासमा पनि कालिमाटी तरकारी बजारले त्यहाँबाट निस्किएको फोहोर कारखानासम्म नपुर्‍याउँदा तीन महिनादेखि तरकारी बजारको फोहोर त्यहाँ पुग्न सकेको छैन ।

तरकारी बजारले नै फोहोर ल्याइदिनु पर्ने सहमति भएको उहाँको दाबी छ । अहिलेसम्म पनि आफैंले फोहोर ल्याउने गरेको बुढाथोकीले बताउनुभयो तर कालिमाटी तरकारी बजार विकास समितिका महानिर्देशक तुलसी गौतमले भन्नुभयो-फोहोर दिने मात्र सहमति भएको हो पुर्‍याइदिने होइन । फोहोर नपाएपछि अहिले पूर्णरुपमा काम हुन सकेको छैन । पूर्णरुपले काम भए राम्रो नाफा पनि कमाउन सकिन्थ्यो बुढाथोकीले भन्नुभयो ।


Source:[http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=23425&cat_id=19]

कपिलवस्तु घटनालाई जेएमसीसीमा छलफल गरिने

भदौ ९ - संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले कपिलबस्तु घटना बृहत् शान्ति सम्झौता विपरित भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।

हातहतियार तथा सेनाको व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौताको पालना भए-नभएको अनुगमन गर्ने जिम्मेवारी पाएको संयुक्त अनुगमन समन्वय समिति -जेएमसीसी को अवको बैठकमा उक्त घटनाबारे छलफल गरिने पनि अनमिनले जनाएको छ ।

चारवटा गाडीमा सादा र कम्व्याक्ट पोसाकमा रहेका १९ जना माओवादी लडाकुहरुलाई प्रहरीले सोमबार हतियार सहित नवलपरासीको जितपुरबाट पक्राउ गरेको थियो । नेतृत्वको सुरक्षाको लागि आफूहरु परिचालित भएको माओवादी लडाकु नेतृत्वले जनाएको छ ।

घटनाबारे बुझ्न गएको अनमिन टोलीले माओवादी सेनाका १९ जना सदस्य नै प्रमाणीत लडाकु भएको निष्कर्षनिकालेको छ । अनमिनद्वारा मंगलबार जारी विज्ञप्तिमा लडाकुहरुसग रहेको नौ वटा हतियारमा बार कोड तथा सिरियल नम्बर रहेको र ती हतियारहरू चौथो मुख्य शिविरको सुरक्षा प्रयोजनका लागि अनमिनले दर्ता गरेको पाइएको उल्लेख छ ।

पक्राउ परेका लडाकुहरु रिहाइपछि चौथो मुख्य शिविर तथा प्रथम सहायक शिविरमा फर्किएको र हतियारहरूलाई चौथो मुख्य शिविरमा फर्काइएको अनमिनले जनाएको छ ।

अनमिनले उक्त घटनाको अनुसन्धान जारी राख्ने जनाउदै एकीकृत माओवादीले हातहतियार तथा सेनाको व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौतामा व्यक्त प्रतिबद्धताहरूको उल्लङ्घन गरेको जनाएको छ ।


Source:[http://www.ekantipur.com/nepali/kolmain.php?&nid=211416]

Tuesday, August 25, 2009

आजको कार्टुन















आज बाट कार्टुन स्तम्भ पनि थपिएको छ जसमा विभिन्न पत्रपत्रिकामा छापिएका कार्टुन मध्धे कुनै एउटा राखिने छ |



Source:[http://sitecdn.dainikee.com/cartoon/33.jpg]

वैज्ञानिकभन्दा कम छैनन् किसान


कास्कीको लेखनाथ नगरपालिका- १० निवासी सूर्यप्रसाद अधिकारी एक किसान हुन् । उनले पर्माकल्चर डिजाइन र पार्टिसिपेटरी प्लान्ट बि्रडिङको तालिम लिएका छन् । उनी साधारण किसान होइनन् । यस अर्थमा कि उनी आफ्ना स्तरबाट निरन्तर अनुसन्धान र अन्वेषण गरिरहेका छन् । र, अनुसन्धान र अन्वेषण केवल विज्ञ र विद्वान्का पेवा हुन् भन्ने कुरालाई गलत सावित गरिरहेका छन् । ६० वर्षको उमेरमा पनि उनमा नयाँ कुरा सिक्ने र अन्वेषण गर्ने गजबको उत्साह छ ।

उनको अनुसन्धानको सबभन्दा राम्रो परिणाम लाहीकीरा नियन्त्रणमा देखिएको छ । उनले लाहीकीरालाई राता कमिलाबाट नियन्त्रण गर्ने गरेका छन् । यस अनुसन्धानमा सफल भएका उनी आफ्नो सफलता लाहीकीराको समस्या भएको ठाउँमा पुर्‍याउन सके लाखौं कृषक लाभान्वित हुन सक्ने बताउँछन् । 'अरू कृषकका समस्या समाधान गर्न म यथाशक्य योगदान गर्न चाहन्छु ।'

उनको परिवार सानो र सुखी छ, उनी, श्रीमती र एक छोरा । उनका छोरा न्युजिल्यान्डमा फिल्म अध्ययन गरिरहेका छन् । छोराको फिल्म प्राविधिक हुने धोको रहेछ ।

सूर्यप्रसादलाई एक सफल प्रगतिशील कृषकका रूपमा जिल्ला र जिल्लाबाहिर सम्मान गरिन्छ । आफ्नो सफलताका लागि उनी परिवारको भूमिका महत्त्वपूर्ण हुने बताउँछन् । भन्छन्, 'परिवारको सहयोगविना जतिसुकै राम्रो काम पनि असफल हुन सक्छ । मेरी श्रीमती मेरा हरेक कदममा साथ दिन्छिन् । त्यसैले पनि म नयाँनयाँ अनुसन्धान गर्न सधंै उत्सुक हुन्छु । '

उनी हाल कफीको बोक्रा कसरी सदुपयोग गर्न सकिन्छ, त्यसको खोज गरिरहेका छन् । कफी उत्पादन गर्दा निस्केका कफीका बोक्रा यत्तिकै खेर गइरहेका छन् । कफीको बोक्रा खेर गएको उनलाई चित्त बुझेको छैन । 'म हाल कफीको बीउको बोक्रा प्रयोग गरेर च्याउ उत्पादन गर्न सकिन्छ कि भनी अनुसन्धान गरिरहेको छु,' उनी भन्छन्, 'यस अनुसन्धानलाई यौटा टुंगोमा पुर्‍याइछाड्ने उद्देश्य छ मेरो ।'

उनले बेसार, सिमि्रक र सजीवनको झोल बनाएर छर्किदा सुन्तला र कफीको ढुसी नियन्त्रण हुने पत्ता लगाएका छन् । अब यस झोललाई इएम छर्केझैं छर्किन मिल्ने बनाउने अनुसन्धानमा जुटिसकेका छन् उनी ।

कृषि सबभन्दा राम्रो पेसा हो भन्छन् उनी । अनुभव र केही तालिमका आधारमा कृषि अन्वेषक बनेका उनी कृषिमा आएका समस्यालाई गहिरिएर बुभ\mनुपर्छ र समस्यालाई समाधान गरी कृषकहितका लागि आप\mनो क्षेत्रबाट योगदान गर्नुपर्छ भन्ने मान्यता राख्छन् । कृषिका विद्यार्थी तथा शिक्षकले कृषक-अन्वेषकबाट धेरै कुरा सिक्न सक्ने बताउँछन् उनी । 'किताबी ज्ञान मात्रै सबथोक होइन । माटोको कुरा माटोमा कुल्चिएर जान्नुपर्छ ।' सही ढंगले कृषिका कथा/व्यथा केलाई अन्वेषणमा पत्ता लागेका कुरा जनता माझमा पुर्‍याउनुपर्ने माग छ उनको । 'प्रचारप्रसारका माध्यमबाट किसानवर्गलाई सुसूचित गर्नुपर्छ ।'

उनीजस्ता खोजमूलक कृषकले आफूले गरेका कामका बारेमा अरू कृषक, कृषि वैज्ञानिक, अध्यापक र विद्यार्थीलाई थाहा दिनुपर्छ भन्छन् उनी । 'चेतनशील कृषकको काम आफ्नै ढंगमा निरन्तर अनुसन्धान गरिरहनु हो । खेतबारीमा धेरै कुरा पत्ता लगाउन सकिन्छ । र, यसका लागि पढेलेखेको हुनुपर्छ भन्ने छैन । आफूले गरिखानुपर्ने कृषिका कयौं समस्या हामी आफैं हल गर्न सक्छौँ । बस्, हामीले सोच्न थाल्नुपर्‍यो ।'

कृषिका विद्यार्थी र कृषक-अन्वेषकहरूबीच निरन्तर अन्तरक्रिया हुनुपर्छ भन्छन् उनी । 'कृषकले गरेका अनुसन्धानमा वैज्ञानिक तौरतरिका थप्ने काम विद्यार्थीले गर्नुपर्छ,' उनी भन्छन् । अनि, कृषि र पशुविज्ञानका प्राध्यापकका कामचाहिँ के-के हुन् त ? उनीसँग तयारी जवाफ छ, 'कृषक-अन्वेषकरुले गरेका सफल प्रयोगमा थप अध्ययन-अनुसन्धान गर्ने र अन्वेषक र अरू कृषकलाई सरसल्लाह दिने । प्रचार-प्रसार र प्रवर्द्धनको एउटा माध्यम या स्रोत तयार गरिदिने ।'

अनि, विश्वविद्यालयले चाहिँ कस्तो भूमिका खेल्नुपर्छजस्तो लाग्दोरहेछ त यी कृषक-अन्वेषकलाई ? 'परम्परागत ज्ञानमा आधारित घरेलु उपचार तथा किसानसँग भएका ज्ञानका बारेमा अध्ययन-अनुसन्धान गर्ने काम विश्वविद्यालयको हो । 'स्थानीय जडीबुटीबाट पशुस्वास्थ्य उपचारको खोजी गर्नुपर्छ । र, त्यस्तो ज्ञान कृषक-कृषकबीच आदान-प्रदान गर्न विश्वविद्यालयले सक्रिय भूमिका खेल्नुपर्छ ।'

राज्यले अन्वेषण कार्य गरिहेका कृषकलाई कुनै प्रोत्साहन नदिएको गुनासो छ उनको ।

'किसानले पनि अनुसन्धान गरिराखेको हुन्छ र केही पत्ता लगाउन सक्छ भन्ने विश्वास छैन राज्यलाई । त्यसैले अन्वेषण गर्न सक्नेलाई राज्यले हौसला दिने या कदर गर्ने काम गरेको छैन ।' उनका अनुसार कृषक-अन्वेषकलाई प्रोत्साहन दिनका लागि राज्यले छुट्टै निकाय स्थापना गर्नुपर्छ । कृषक-अन्वेषकको पहिचान गरी उनीहरूबीच सहकार्यका लागि यौटा मञ्चको आवश्यकता देखेका छन् उनले ।

आफ्नै खर्चमा विभिन्न अनुसन्धान गरिरहेका छन् उनी । तर, कहिलेकाहीँ भने उनले अरू व्यक्ति या संस्थाका सहायता नलिई हुँदैन । 'आफूले तयार गरेको कम्पोस्ट मल या गँड्यौला मलको असर थाहा पाउन ल्याब टेस्ट गर्नु जरुरी हुन्छ । यसका लागि अरूको सहयोग लिनै पर्‍यो ।' प्रांगारिक खेती, गँड्यौला मल बनाउने तरिका धैरै किसानलाई सिकाउनुपर्नेमा जोड दिन्छन् उनी । 'कृषिप्रधान देश भनेर मात्रै कृषिमा उन्नति गर्न सकिन्छ र ?' उनको प्रश्न निकै जायज लाग्छ ।

भारतले थप्यो सीमामा चार सय चौकी

बच्चु विक/नयाँ पत्रिका

कञ्चनपुर, ८ भदौ

सीमा सुरक्षा बल

(एसएसबी) ले ज्यादती गरेको भन्दै नेपालीले गुनासो गरिरहेका वेला भारतले करिब दस गुणा बढी चौकी थपेको छ । यसअघि नेपालको सीमावर्ती क्षेत्रमा ५० सुरक्षाचौकी रहेकोमा भारतले बढाएर चार सय ५० पुर्‍याएको छ ।

भारतले नेपाल र भुटानको सीमाक्षेत्रमा जम्माजम्मी पाँच सय ७८ चौकी स्थापना गरेको छ, जसमा चार सय ५० नेपालको सीमावर्ती क्षेत्रमा छन् । नेपाल र भारतबीच एक हजार सात सय ५१ किलोमिटर र भारत र भुटानबीच ६ सय ९९ किलोमिटर लामो सिमाना छ ।

सीमाको प्रत्येक दुईदेखि पाँच किलोमिटरको दूरीमा भारतले चौकी राखेको छ । एसएसबीका महानिर्देशक एसके भगतले चौकीसँगै ३५ बटालियन र ४१ हजार सुरक्षाकर्मी थपिएको जानकारी हिन्दुस्तान टाइम्सलाई दिएका छन् । 'नेपालमा आइएसआईको प्रभाव बढेका कारण भारतले चौकीको संख्या बढाएको हो,' पत्रिकाले सोमबार छापेको छ ।

भारतले यति धेरै सुरक्षाचौकी बढाए पनि नेपालले भने कुनै प्रतिक्रिया दिएको छैन । 'उनीहरूले आफ्नो भूमिमा चाहेजति सुरक्षाकर्मी राख्न सक्छन्, त्यसका लागि हाम्रो सहमति लिनुपर्दैन,' गृह प्रवक्ता रत्नराज पाण्डेले नयाँ पत्रिकासित भने, 'यसमा हामीले चिन्ता गर्नुपर्ने कारण केही छैन ।'

गृह मन्त्रालयले चिन्ता नगरे पनि एसएसबीको ज्यादती सहन बाध्य नेपाली भने चिन्तित छन् । चौकी र सुरक्षाकर्मी थपिएपछि सीमाक्षेत्रका नेपालीमाथि ज्यादती पनि बढेको छ । एसएसबीको ज्यादती सहन नसकेर कञ्चनपुरका स्थानीय बासिन्दाले शनिबार अन्तर्राष्ट्रिय नाकामा चक्काजामसमेत गरे ।

ज्यादतीको शृंखलामा एसएसबीले शुक्रबार साँझ भारतीय सहर बनबासाबाट फर्किंदै गरेका नौजना नेपालीलाई रोकेर दुव्र्यवहार गरेको थियो । एसएसबीले नेपालीका ६ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको थियो ।

बिहीबार मात्रै एसएसबीले नेपाली मलामीहरूलाई दुव्र्यवहार गरेको थियो । नेपालबाट भारतीय भूमि हुँदै नेपाली भूमिमा ल्याएर महाकाली नदीको किनारमा दाहसंस्कार गर्न हिँडेका मलामीलाई एसएसबीले गाली गरेर फर्काएको थियो । महाकाली किनारमा शव ल्याउन भारतीय बाटो हुँदै आउन बाध्य नेपालीलाई अहिले मात्र एसएसबीले रोक लगाएको हो ।

केही दिनअघि महाकालीपारिको दोधारा र चाँदनी गाविसका लागि औषधि लग्दै गरेको कञ्चनपुर जिल्ला जनस्वास्थ्य कार्यालयको गाडी पनि एसएसबीले फर्काएको थियो । शारदा बाँधको बाटो भएर औषधि लग्न नदिएपछि महाकाली झोलुंगेपुलबाट बोकेर दोधारा र चाँदनीमा औषधि पुर्‍याउनुपरेको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ प्रशासक शिवदत्त भट्टले बताए । 'हाम्रो सरकारको औषधि हो, हाम्रा जनताका लागि हो भनेर अनुरोध गर्दा पनि उनीहरूले धम्की दिएर फिर्ता पठाए,' भट्टले नयाँ पत्रिकासित भने ।

त्यस्तै पाँच दिनअघि भारतीय रुपैयाँ बोकेको भनेर दुईजना नेपालीलाई एसएसबीले पक्राउ गरेको थियो । धेरै भारतीय रुपैयाँ किन बोकेको भन्दै बझाङका नरबहादुर बोहरा र देवबहादुर रोकायलाई तीन दिनसम्म थुनेर छाडिएको थियो । तर, उनीहरूबाट नियन्त्रणमा लिएको नौ लाख ८० हजार रुपैयाँ अहिलेसम्म फिर्ता भएको छैन ।

गड्डाचौकी, ब्रह्मदेव-टनकपुरदेखि दक्षिण दोधाराको मेलाघाट नाकासम्म एसएसबीले नेपालीलाई सताइरहेको छ । ब्रह्मदेव नाकाबाट दुई किलोग्रामभन्दा बढी कुनै पनि सामान नल्याउन एसएसबीले उर्दी नै जारी गरेपछि कञ्चनपुर उद्योग वाणिज्य संघले विरोध गरेको छ, तर प्रशासन अहिलेसम्म मौन छ ।

एसएसबीका सुरक्षाकर्मीहरूले मदिरा सेवन गरी नेपालमा आएर नेपालीलाई नै कुटेपछि स्थानीय बासिन्दाले सामूहिक प्रतिकार गरेका थिए । सो घटनापछि ब्रह्मदेव नाकामा एसएसबीले हिँडडुल गर्नसमेत प्रतिबन्धजस्तै लगाएको छ ।

त्यस्तै महाकालीपारिको दोधारा र चाँदनीमा त एसएसबीले नेपालमै आएर कुटपिट गर्ने र विरोध गरे गिरफ्तारसमेत गर्दै आएको छ । साउनको अन्तिम साता चाँदनी गाविस-९ का हरि भण्डारी, रनबहादुर बुढासहित ६ जनालाई एसएसबीले नेपालमै आएर कुटपिट गर्‍यो । विनासित्तै कुटेकोमा विरोध गरेपछि उनीहरूलाई पक्राउ गरेर भारततिर लगिएको थियो । तीन दिनपछि नेपाल प्रहरीको टोली एसएसबी क्याम्पमा गएर कुरा गरेपछि मात्र उनीहरूलाई छाडिएको थियो ।

साउनको तेस्रो साता दोधारा-४ का लोकबहादुर थापा, कल्लु सुनार, वीरेन सार्की र महेश चन्दलाई पनि एसएसबीले कुटपिट गरेर पक्राउ गरेको थियो । साइकलमा सामान किन बोकेको भन्दै उनीहरूलाई कुटेर एसएसबीको खटिमास्थित क्याम्पमा लगेर थुनिएको थियो । एक सातासम्म यातना दिएर थुनेपछि मात्र उनीहरूलाई रिहा गरिएको थियो ।

साउन २१ गते दोधाराका दुर्कबहादुर घर्तीमगरलाई पनि कुटपिट गरी पक्राउ गरिएको थियो । नेपालमा उत्पादित परवल किन भारततिर लग्न थालेको भन्दै दुर्कबहादुरलाई कुटेर पक्राउ गरिएको थियो । उनलाई दुई दिनपछि रिहा गरे पनि दोधारा र चाँदनीको परवल भारत लग्न अहिले पनि प्रतिबन्ध लगाइएको छ । विगतका वर्षहरूमा भारतको दिल्ली, लखनउ, बरेलीलगायतका सहरमा जाने परवल यसपालि भने खेतमै कुहिन थालेको छ ।

केही समययता सीमाक्षेत्रमा एसएसबीले दुःख दिन थालेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुसुमाकर ढकाल पनि स्विकार्छन् । 'केही दिनयता अलि बढी ज्यादती भएको गुनासो आइरहेको छ,' प्रमुख जिल्ला अधिकारी ढकालले भने, 'यो राम्रो होइन ।' समस्या अझै बढे छिट्टै सीमा-बैठक बोलाएर छलफल गरिने उनले बताए ।

Source:[http://www.nayapatrika.com/newsportal/cover_story/5210.html]

सपथ प्रकरण नचर्काउन ठाकुरलाई प्रधानमन्त्रीको आग्रह

९ भदौ, काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपालले तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई उपराष्ट्रपतिको सपथ प्रकरण नचर्काउन आग्रह गर्नुभएको छ ।

मंगलबार बिहान आफ्नै सरकारी निवास वालुवाटारमा डाकेर प्रधानमन्त्रीले ठाकुरलाई उपराष्ट्रपतिको सपथ प्रकरणको सकारात्मक अन्त्यका लागि आग्रह गर्नुभएको हो ।

भेटमा नेपालले उपराष्ट्रपतिलाई नेपाली भाषामा सपथ लिन मनाइदिन आग्रह गर्नुभएको ठाकुर निकट स्रोतले जनाएको छ ।


Source:[http://www.onlinekhabar.com/wp/2009/08/25/18085.html]


व्यक्तिगत प्यान नम्बर वितरण सुरु


image

नयाँ पत्रिका

काठमाडौं, ८ भदौ

आन्तरिक राजस्व कार्यालयले सोमबारदेखि विद्युतीय प्रणालीमा आधारित व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) वितरण सुरु गरेको छ ।

सोमबार अर्थमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री माधवकुमार नेपाल तथा मन्त्रीहरूलाई स्थायी लेखा नम्बर उल्लेख भएको परिचयपत्र वितरण गरे । सोमबार नै अर्थमन्त्री पाण्डेले पनि प्रधानमन्त्रीको हातबाट आफ्नो नम्बरको परिचयपत्र लिए ।

विभागले वितरण गरेको परिचयपत्रमा राष्ट्रपति डा. रामवरण यादवको स्थायी लेखा नम्बर १०००००००१ रहेको छ । उपराष्ट्रपति परमानन्द झाको स्थायी लेखा कार्ड नम्बर १०००००००२ हो भने प्रधानमन्त्री माधवकुमार नेपालको स्थायी लेखा नम्बर १०००००००३ तथा अर्थमन्त्री सुरेन्द्र पाण्डेको स्थायी लेखा नम्बर १०००००००४ रहेको छ । लेखा कार्डमा कर अधिकृत मदन दाहालले हस्ताक्षर गरेका छन् । कार्ड नम्बरमा करदाताको जन्ममिति, स्थायी ठेगाना उल्लेख गरिए पनि करदाता राष्ट्रप्रमुख, सरकारप्रमुख, मन्त्री, सरकारी कर्मचारी, डाक्टर, प्राध्यापक, व्यापारी वा अन्य विषयबारे भने खुलाइएको छैन ।

सरकारले चालू आर्थिक बर्षको बजेट वक्तव्यमा आयआर्जन गर्ने सबै व्यक्तिले स्थायी लेखा नम्बर लिने घोषणा गरेको थियो । 'अहिले बजेटमा घोषणा गरेअनुसार नै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरूलाई व्यक्तिगत स्थायी लेखा नम्बर वितरण सुरु गरिएको हो,' अर्थमन्त्री सुरेन्द्र पाण्डेले भने । उनले अब छिट्टै प्रधानन्यायाधीश, न्यायाधीश, सभामुख, संवैधानिक अंगका प्रमुख, सांसदलगायत पदाधिकारीलाई स्थायी लेखा नम्बर वितरण गर्ने जानकारी दिए ।

व्यक्तिगत स्थायी लेखा नम्बर लिएपछि प्रत्येक व्यक्तिले तिरको कर हेर्न सकिनेछ । सरकारले बजेटमा वाषिर्क १५ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने र्फम तथा व्यक्तिगत रुपमा वाषिर्क एक लाख ५० हजार रुपैयाँ तथा दम्पतीका हकमा २ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने व्यक्तिले कर तिर्नुपर्ने उल्लेख गरेको छ ।

आय आर्जन गर्ने प्रत्येकले व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था कर कार्यालयले गरेको छ । त्यसका अलावा सरकारी, अर्धसरकारी तथा कम्पनी, संघसंस्थालाई घर बहालमा दिने घरधनी र १० लाख रुपैयाँभन्दा बढीको सेयर खरिद-बिक्री गर्ने व्यक्तिले अनिवार्य रुपले व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी डाक्टर, इन्जिनियर, लेखा परीक्षक, कानुन व्यवसायी, व्यक्तिगत परामर्शदाता, कलाकार, बिमा अभिकर्ता, कमिसन एजेन्ट, सार्वजनिक सवारीधनीले पनि अनिवार्य व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था गरेको छ ।

हाल ३ लाख ५० हजार करदाता रहेका छन् । सरकारले व्यक्तिगत स्थायी लेखा नम्बर वितरण गरेर २ लाख थप करदाता थप्ने लक्ष्य राखेको छ । यसमा १ लाख ५० हजार व्यक्तिगत करदाता र ५० हजार संस्थागत करदाता हुने लक्ष्य मन्त्रालयको छ ।

सर्वोच्चको आदेशको पालना गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति डा. रामवरण यादवले उपराष्ट्रपति परमानन्द झालाई सर्वोच्च अदालतको आदेशको पालना गर्न अनुरोध गरेका छन।
मंगलबार अपरान्ह चार बजे राष्ट्रपति कार्यालय पुगेका उपराष्ट्रपति झालाई राष्ट्रपति यादवले सर्वोच्च अदालतको आदेशको सम्मान गर्ननै उपयुक्त हुने आफ्नो धारणा रहेको बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए।
सोमबारसम्म राष्ट्रपतिको रायपछि मात्र निर्णय लिने बताउँदै आएका उपराष्ट्रपति झाले भने आफूले सल्लाह गरेर मात्र निर्णय लिने बताएका छन।
राष्ट्रपति र उपराष्ट्रपतिबीच आधा घण्टा छलफल भएको थियो।


Monday, August 24, 2009

'या शपथ लेऊ या पद छाड'


श्रीधर खनाल/नयाँ पत्रिका काठमाडौं, ७ भदौ

हिन्दी भाषामा शपथ लिएर विवादमा परेका निर्वाचित उपराष्ट्रपति परमानन्द झा सात दिनभित्र नेपाली भाषामा शपथ नलिए स्वतः पदमुक्त हुने भएका छन् । सर्वोच्च अदालतको पूर्ण इजलासले आइतबार नेपालीमा शपथ लिन समयसीमा तोक्दै उपराष्ट्रपति झाका नाममा यस्तो आदेशदिएको हो । न्यायाधीश तपबहादुर थापा, रामकुमारप्रसाद शाह, कल्याण श्रेष्ठ, प्रेम शर्मा र भरतराज उप्रेतीको इजलासले गरेको आदेशमा भनिएको छ, 'सात दिनभित्र संविधान र अदालतको आदेशअनुसार कानुनसम्मत शपथ नलिएमा उपराष्ट्रपतिको कार्यभार क्रियाशील नरहेको मानिनेछ ।

उपराष्ट्रपति निर्वाचित भएपछि झाले ८ साउन ०६५ मा राष्ट्रपति डा. रामवरण यादवबाट शपथ लिएका थिए । राष्ट्रपति यादवले नेपाली भाषामा पढेको शपथलाई उनले हिन्दीमा उल्था गरेर उच्चारण गरेका थिए । उपराष्ट्रपति झाले हिन्दी भाषामा लिएको शपथ नेपालको अन्तरिम संविधानविपरीत जनाउँदै अदालतले यसअघि नै रद्द गरिसकेको छ । ९ साउनमा हिन्दीमा लिएको शपथ रद्द गर्दै अदालतले नेपालीमा शपथ लिन आदेश गरे पनि उपराष्ट्रपति झाले अहिलेसम्म दोस्रोपटक शपथ लिएका छैनन् । नेपालको अन्तरिम संविधानको धारा ३६ झ को उपधारा २ मा पद तथा गोपनीयताको शपथ नलिएसम्म उपराष्ट्रपतिको कार्यभार संहाल्न नमिल्ने व्यवस्था छ ।

उपराष्ट्रपति झाले शपथको कार्यक्रम तय भएमा पुनः शपथ लिने आशयको लिखित जवाफ सर्वोच्च अदालतमा पठाएका छन् । आइतबारको पूर्ण इजलासले यसलाई सकारात्मक रूपमा लिएको छ । 'महामहिम राष्ट्रपति महोदयले मलाई पुनः शपथग्रहण गराउन स्वीकार गरेको खण्डमा तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तत् सम्बन्धमा कार्यक्रम तय गरी जानकारी आएको अवस्थामा सोबमोजिम केही गर्न सकिन्छ,' उपराष्ट्रपति झाले २ भदौमा सर्वोच्चलाई पठाएको लिखित जवाफमा उल्लेख छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतलाई लेखेको पत्रमा 'शपथग्रहण गराउनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रपतिको कार्यालय र सम्माननीय उपराष्ट्रपतिसँग समन्वय गर्ने काम भइरहेको' उल्लेख छ । 'समय तय हुनासाथ उपराष्ट्रपति पदको शपथग्रहण कार्यक्रम आयोजना गरिनेछ,' सो पत्रमा छ । मन्त्रिपरिषद् कार्यालयले शपथग्रहणका विषयमा उपराष्ट्रपतिलाई समेत पत्र लेखिसकेको छ ।

१ भदौमा राष्ट्रपतिलाई लेखिएको पत्रमा भनिएको छ, 'उपराष्ट्रपति पदको शपथग्रहण गराउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रपतिको कार्यालयसँग समन्वय गरी शपथग्रहणको मिति तथा कार्यक्रम तय गर्नुपर्ने भएकाले सो प्रयोजनका लागि सम्मति दिनुहुन अनुरोध गर्दछौं ।' उता, राष्ट्रपतिको कार्यालयले भने शपथ लिने व्यक्ति तयार भएको अवस्थामा राष्ट्रपति शपथ गराउन तयार रहेको जानकारी गराएको छ । ३ भदौमा अदालतलाई लेखिएको पत्रमा भनिएको छ, 'शपथ गर्ने व्यक्तिले सोका लागि इच्छा व्यक्त गरी जानकारी गराएको अवस्थामा नेपालको अन्तरिम संविधान २०६३ बमोजिम शपथग्रहणसम्बन्धी कार्यसम्पादन गर्न सम्मानित राष्ट्रपति तयार रहनुभएको छ ।' उपराष्ट्रपति परमानन्द झाले भने शपथको विषयमा एक सातामा निर्णय गर्ने बताए । न

याँ पत्रिकासँग फोनवार्तामा उपराष्ट्रपति झाले भने, 'पुनः शपथ खाने विषयमा अहिलेसम्म केही सोचेको छैन । आदेश हेरेर मात्र यो विषयमा निर्णय गर्छु ।' उनले भने, 'मैले पनि मिडियाहरूबाटै सुनेको छु । औपचारिक रूपमा आदेश आएको छैन । मैले सुनेअनुसार एक साताको समय दिएको छ, एक हप्तामा सोचौँला नि !' विनम्र भावमा प्रस्तुत भएका उपराष्ट्रपति झाले आदेश सकारात्मक वा नकारात्मक भन्ने कुनै टिप्पणी गर्न चाहेनन् । 'आदेश हेरेर केही सोच्नेछु,' उपराष्ट्रपति झाले भने ।

Source:[http://www.nayapatrika.com/newsportal/cover_story/5164.html]

यन्त्रमानवले गर्ने भो सबै काम !



अब, आउँदो दस वर्षमा, विनाचालक नै ट्रक सडकमा गुड्नेछ । पाल्तु पशुपक्षीका रूपमा पनि रोबोटले नै काम गर्नेछन् । रोबोटलेे सर्जनको काम गर्नेछ, अनि आजजस्तो अमेरिकीहरूले नेपाली, फिलिपिनो वा तेस्रो विश्वका महिलालाई बेबिसिटरको जागिर दिनेछैनन्, आफ्नै रोबोटले काम फत्ते गर्नेछन् । अर्थात् मानिस र उसका घरपालुवाले गर्ने जटिल काम यन्त्रमानवले गर्नेछ । यसका लागि विज्ञान-प्रविधिमा उच्च दक्षता हासिल गरेका जापान, अमेरिका र बेलायतजस्ता देशमा तयारी भइरहेको छ । बेलायतले त दस वर्षमा चमत्कारी यन्त्रमानवलाई गाडी चलाउन जिम्मा दिने भइसकेको छ ।

हुन त विनाचालकको ४२ टन क्षमताको लरी सडकमा बेतोडले कुदिरहेको देखेर तपाईंको सातो जाला तर यो राम्रैसँग चल्छ । पक्का हो, आउँदो दस वर्षमा बेलायतका सडकमा यस्ता लरी गुड्नेछन् । विज्ञहरूले यस्तो भविष्यवाणी गरेका हुन् । यिनै ट्रकले रोबोट-क्रान्तिको विचित्र युग निम्त्याउनेछन् । रोयल एकेडेमी अफ इन्जिनियरिङका अनुसार, कृत्रिम बौद्धिकताले युक्त रोबोट र कम्प्युटरहरूले जीवनमरणको निर्णय लिन सक्नेछन् र यो तपाईं-हाम्रो जीवनका सबै पक्षमा सामान्य बन्न पुग्नेछ । सो एकडेमीले बूढाबूढीका लागि शल्यचिकित्सक, सिपाही, बेबीसिटर (बालबालिकाको स्याहार गर्ने मानिस), थेरापिस्ट र बिरामीको स्याहारकर्ताका रूपमा यस्ता सोच्नसक्ने यन्त्रको बढ्दो उपयोगसम्बन्धी सामाजिक, कानुनी र नैतिक मामलामा सार्वजनिक बहस होस् भन्ने चाहिरहेको छ । हो, यसले जसका यौनसाथी छैनन्, तिनलाई यौनसुखसमेत दिनेछ । विज्ञहरूले यसलाई स्वचालित प्रणाली भनेका छन् ।

उनीहरूले दिएको प्रतिवेदनले कसरी कम्प्युटरनिर्देशित ट्रकहरूले सवारी र पैदल हिँड्नेहरूलाई हेर्नका लागि लेजर राडार, भिडियो क्यामरा र स्याटनाभबाट प्राप्त तथ्यांकको उपयोग गर्छन् भन्ने विवरण प्रस्तुत गरेको छ । यसै प्रतिवेदनका सहलेखक तथा साउथह्याम्पटन विश्वविद्यालयका प्रोफेसर विल स्टेवार्टले चालकविहीन लरी र कारहरू चलाउने कामलाई निकै नै सुरक्षित तुल्याउने दाबी गरेका छन् ।

'यो यन्त्र सम्पूर्ण रूपले सुरक्षित छ । तपाईं-हामीजस्ताले सडकमा बेहोर्नुपर्ने जोखिम यसले मोल्नुपर्दैन । यो नथाकीकन चौबीसै घन्टा कुदिरहन सक्छ,' विल स्टेवार्ट भन्छन् । स्टेवार्टका अनुसार चालकविहीन कार र रोबोट ट्याक्सीका लागि यो प्रविधि तयार भइसकेको छ । आउँदो बीस वर्षजतिमा त्यस्ता ट्याक्सीले आफ्ना यात्रुहरूलाई कुनै पनि गन्तव्यमा पुर्‍याउनेछन् । लन्डनको डकल्यान्ड लाइट रेल्वेमा यस्तो पूरै स्वचालित रेल प्रयोगमा आइसकेको छ भने साँघुरा गल्लीमा २५ मिटर प्रतिघन्टा चल्नसक्ने चालकविहीन कार हिथ्रोमा पहिलोपल्ट प्रयोगमा ल्याइनेछ ।

स्टेवार्टले स्वचालित वाहनहरू मालसामान ओसारपसार गर्नका लागि अति नै उपयोगी हुनेछन् । उनी भन्छन्, 'मलाई लाग्छ, दस वर्षमा ३० प्रतिशत ट्रकहरू यन्त्रचालित हुनेछन् । उनीहरूका कम्प्युटरले अन्य सडक प्रयोग गर्नेहरूको व्यवहारको अनुमान गर्नेछन्, अन्य गाडी साह्रै नजिक आइपुगे भने त्यस्ता गल्तीबाट सिक्न सुरक्षित किसिमले बिस्तारै गति कम गर्नेछन् ।

यदि लरीमा कुनै किसिमको यान्त्रिक वा सफ्टवेयरमा गडबडी भएको पत्ता लाग्योे भने यिनले तान्छन् र रेडियोको मद्दत लिन्छन् । प्रोफेसर स्टेवार्टले भने, 'यसले अन्य गाडीलाई बाटो छाडिदिने गर्छन् ताकि अन्य गाडी सुरक्षित तवरले आफ्नो बाटो लाग्न पाऊन् ।'

यसो भए पनि प्रतिवेदनले यस्ता स्वचालित कार दुर्घटनामा परिहालेका खण्डमा निकै जटिल कानुनी झन्झट हुनसक्ने सम्भावना औँल्याएको छ ।

चालकविहीन वाहनहरू

लेजर राडार र क्यामराको प्रयोगबाट यस्ता गाडीले सवारीको स्क्यान गरेर आफ्नो वरपरको सडकको त्रिआयामिक चित्र खिच्छन् । यस्ता चित्र पैदलयात्रुले बाटो काटिरहेको, अन्य गाडी वा गाडी फस्नसक्ने दलदलजस्ता खतराको अवस्था पहिल्याउँछन् । चालकविहीन ट्याक्सी भने आउँदो वर्ष हिथ्रोमा देख्न पाइनेछ ।

रोबोटे घरेलु पशुपक्षी

बुद्धिमान् तथा कुरा बुझ्नसक्ने रोबोटे कुकुर र अन्य पाल्तु पशुपक्षीले प्रतिक्रिया दिन आफ्नो मालिक कम्पनीको आवाजको निर्देशन खोज्नेछन् । तिनमा सेन्सर जडान गर्न सकिन्छ र मालिक बिरामी परे उसका नातेदारलाई खबर गर्न अलार्म पनि राख्न सकिन्छ ।

रोबोटे सर्जन

गत जुनमा लन्डनमा एकजनाको मिर्गौला प्रत्यारोपण गर्न स्वचालित रोबोटको प्रयोग गरिएको थियो । सुरुमा दुर्गम स्थान वा युद्धमैदानका लागि तयार गरिए पनि तिनमा त्रिआयामिक अल्ट्रासाउन्ड र भिडिओ क्यामरा जडान गरेर नियमित अप्रेसनका लागि समेत उपयोग गर्न सकिन्छ ।

रोबोटे बेबिसिटर

यस्ता रोबोटे शिशु स्याहारकर्ता अनुहार पहिचान गर्न, शिशुहरूसँग कुराकानी गर्न र उनीहरूलाई ठीक ठाउँमा राख्न सक्छन् । सुरुमा यिनको प्रारम्भिक संस्करणहरू जापानमा बिक्रीमा राखिएका थिए । पछिल्ला मोडेलहरूले बालबालिकालाई शिक्षा र मनोरञ्जन दिने अनि बालबालिका बिरामी परे या कुनै कठिनाइ आइलाग्यो भने फोन वा अलार्मबाट बाबुआमालाई खबर गर्ने काम गर्न सक्छन् ।

विज्ञान-प्रविधिको विकासले असल-खराब जे गरोस्, एउटा कुराचाहिँ भन्नैपर्छ, अब विकसित मुलुकको समाजमा मानवीय स्पर्शभन्दा यन्त्रस्पर्श हावी हुनेछ ।

श्यामल (एजेन्सीहरूको सहयोगमा)

Source:[http://www.nayapatrika.com/newsportal/middle_page/5191.html]

बंगलादेशमा सबैभन्दा बढी समुद्रपार निकासी वृद्धि

लीलावल्लभ घिमिरे;विराटनगर, भदौ ८ - पूर्वाञ्चलबाट समुद्रपारतर्फ भएको निकासीमा अघिल्लो आर्थिक वर्षको तुलनमा यसपालि १८ दशमलव ३२ प्रतिशतले बढेको छ । सबैभन्दा बढी यस वर्ष यहाँबाट बंगलादेश बढी सामान निकासी भएको छ ।
यस क्षेत्रबाट २०६४/६५ मा ६ अर्ब ३६ करोड ३३ लाख मूल्य बराबरका वस्तु समुद्रपार निकासी भएका थिए । २०६५/६६ मा निकासीमा वृद्धि भई ७ अर्ब ५२ करोड ९४ लाख मूल्यको निकासी भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख गौरवकुमार कार्कीलेे बताए । अघिल्लो वर्षको तुलनामा यो रकम १ अर्ब २० करोड बढी हो ।
पूर्वाञ्चल क्षेत्रबाट समुद्रपार निकासीका लागि दुई प्रमुख भन्सार -विराटनगर, काँकडभिट्टा) छन् । यस क्षेत्रबाट भारतबाहेक अन्य मुलुकमा दाल, गहुँ, खसी-बोका तथा रांगा-भैंसीको छाला, तयारी पोसाक, कटन टवेल, गहुँको पीठो, चिया, अलैंची, चाउचाउ, जडीबुटी, कर्कटपाता, हरियो तरकारी, तार तथा तारजाली, फलामे पाइप, नेपाली कागजबाट बनेका सामान, मह, तरकारीको बीउ, लुगाधुने साबुन, हस्तकलाका सामान आदि रहेका छन् ।
बंगलादेश, भुटान, पाकिस्तान, संयुक्त राज्य अमेरिका, मलेसिया, इटाली, जर्मनी, संयुक्त अधिराज्य, यूएई, श्रीलंका, टर्की, कुबेत आदि देशमा निकासी हुन्छ । अन्यमा थाइल्याइन्ड, मलेसिया, सिंगापुर, चेक रिपब्लिक, क्यानाडा, निदरल्यान्ड, दक्षिण कोरिया, हङकङ, चीन, अस्ट्रेलिया, इजिप्ट, ओमान, कतार, जोर्डन, जापान, साउदी अरेविया गरी करिब ४० मुलुकमा निकासी हुने गरेको प्रमुख कार्कील बताए ।

यस क्षेत्रको प्रमुख निकासी बजार बंगलादेश हो । २०६५/६६ मा बंगलादेशमा ३ अर्ब ३२ करोड ६५ लाख मूल्य बराबरको दाल निकासी भएको छ । १ अर्ब १७ करोड ५५ लाख मूल्यको गहुँ निकासी भयो ।
केही वर्षयता भुटानमा पनि निकासीमा वृद्धि हुँदै आएको छ । भुटानमा विशेषतः नेपालमा उत्पादित औद्योगिक वस्तु निकासी हुने गर्छ । निकासी हुने प्रमुख वस्तुहरूमा कर्कट पाता, नुडल्स, चिजबल, आल्मुनियम तार, तार जाली, फलामे पाइप, ट्रान्सर्फमर, पोलिथिन पाइप, सेन्थेटिक यार्न, भुजिया, लुगाधुने साबुन, हस्तकलाका सामान आदि छन् ।
यस क्षेत्रमा उत्पादन हुने वस्तुहरूको अर्को प्रमुख बजार अमेरिका हो । यस क्षेत्रबाट तयारी पोसाक, कटन टबेल, छाला, दाल, औद्योगिक कच्चा पदार्थ, गहुँ पीठो आदि गरी ४७ करोड ५६ लाख मूल्यका वस्तु निकासी भएको छ ।

समुद्रपारबाट यस क्षेत्रमा पैठारी हुने प्रमुख वस्तुमा सूति तथा सेन्थेटिक कपडा, कपर ब्रास, आल्मुनियम स्क्रेप, कपर रड, केमिकल्स, कोइला, जिप्सन, तोरी, क्रुड पाम आयल, पोलिथिन ग्रानुयल्स, अन्य औद्योगिक कच्चा पदार्थ, लुबि्रकेटिङ र फर्नेस आयल, स्टेनलेस स्टिल सिट, वायर र फलामे पाता, कम्प्युटर र कम्प्युटर पार्टस, मेसिनरी र मेसिनरी पार्टस, केमिकल्सलगायत रहेको कार्यालयले जनाएको छ ।

Source:[http://ekantipur.com/nepali/kolcom.php?&nid=211190]

हतियारसहित निस्केका शिविरका लडाकु सशस्त्र प्रहरीको नियन्त्रणमा

बुटवल, भदौ ८ (नागरिक) - सशस्त्र प्रहरीले कपिलवस्तुको पिपरामा माओवादी लडाकु चढेका तीन वटा गाडी नियत्न्त्रणमा लिएको छ। गाडीमा हतियार देखेपछि गस्तिमा गएको प्रहरीले बा ००१ अ ७०, बा ००१ अ ६८ र बा ५ च ५१५९ नम्बरको गाडी नियन्त्रणमा लिएको हो भने बा ५ च ८८४८ नम्बरको अर्को गाडी भागेको प्रहरीले जनाएको छ। गाडीमा अहिलेसम्म एसएमजी, इन्सास लगायतका आठ थान हतियार भएको प्रहरीले जनाएको छ। उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय तौलीहवा लगिरएको छ। गाडीमा कति जना थिए भन्ने विषयमा प्रहरीले स्प्ट पारेको छैन।

भागेको गाडीमा विग्रेड कमाण्डर सूर्यवहादुर घर्तीलगायतका केही लडाकु भएको जनाइएको छ। दाङबाट पूर्वतर्फ आउँदै गर्दा पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको पिपरामा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले गाडीसहितका लडाकुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीसमक्ष पक्राउ गरिएकाहरुले ती गाडी रुपन्देही स्थित सैनामैना लडाकु शिविरमा जान लागेको बताएका छन्। प्रहरीले केही हतियार राष्ट्रसंघको छाप नभएको बताए पनि त्यसको विवरण दिएको छैन।

उनीहरुको साथबाट प्रमुख जिल्ला अधिकारी, अनमिनका प्रतिनिधि, माओवादी शिविरका कमान्डरहरु घटनास्थल पुगेका छन्।

हतियारमा युएनको छाप लागेको र उनीहरु एक शिविरबाट अर्को शिविरमा जाँदा पक्राउ गरिएको हुनसक्ने राजधानीमा रहेका एक माओवादी कमान्डरले नागरिकलाई बताए।

Source:[http://nagariknews.com/politics/defence/4300-2009-08-24-09-23-50.html]

माओवादीले सरकारविरुद्द अविश्वास प्रस्ताव ल्याउने

रूद्र खड्का, नेपालगन्ज भदौ ८- पूर्व प्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार अल्पमतमा परेको दावी गर्दै माओवादी चाँडै अविश्वास प्रस्ताव ल्याउने तयारीमा रहेको खुलासा गरेका छन्। चुनाव हारेका धेरै व्यक्ति सरकारमा सामेल भएका कारण जनताको नजरमा वर्तमान सरकार गिरेको छ, सोमबार नेपालगन्जमा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मलेनमा दाहालले भने। वर्तमान गठबन्धनमा सामेल २२ दलमध्येकै केही दल माओवादीको सरकार बन्नुपर्ने प्रस्ताव ल्याएर आफूकहाँ आइरहेको अध्यक्ष दाहालले खुलासा गरे।
बहुमत नपुगेको यो सरकार धेरै दिन टिक्दैन- दाहालले भने। पहिला संसदमा राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध छलफल होस् भन्ने चाहेको र त्यसपछि अविश्वास प्रस्ताव ल्याउने उनले बताए ।' राष्ट्रपतिका विरुद्ध ल्याइएको संकल्प प्रस्तावलाई संसदमा छलफल गर्न दिइनुपर्ने मागसमेत उनले राखे। यदि माओवादीलाई सबैतिरबाट दबाएर राख्न सकिन्छ भनेर कसैले ठानेको छ भने त्यो दुर्भाग्यपुर्ण हुने माओवादी अध्यक्षले बताए। सरकारकै कारण संविधान लेखनमा ढिलाई भइरहेको उनको आरोप छ।

प्रधानमन्त्री माधवकुमार नेपाल भारत भ्रमणमा रहेकै बेला आफु युरोप भ्रमणबाट फर्केपछि काठमाडौंमा नेपालको भ्रमण असफल रहेको बताएपछि मात्र प्रधानमन्त्रीले रोइवरी गरी भारतसँग वाणिज्य सन्धि गरेको दाहालले दाबी गरे। दुवै देशबीच वाणिज्य सन्धि भए पनि त्यो प्रारम्भिकमात्र भएकाले खुशी भइहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।

सेती–महाकाली, भेरी–कर्णाली र थारुवान राज्य समितिको प्रशिक्षणका लागि माओवादी अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष मोहन वैद्य, उपाध्यक्षद्धय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, देव गुरुङ, नेत्रविक्रम चन्दलगायतका नेता आइतबार नेपालगन्ज आएका थिए।


Source:[http://nagariknews.com/politics/party-politics/4293-2009-08-24-07-09-44.html]

Sunday, August 23, 2009

कुन बैँकको सेयर राम्रो

नारायण सापकोटा, काठमाडौं, भदौ ७- सेयर बजारमा सूचिकृत कम्पनीले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन्। लगानीकर्ताले लेखा परीक्षण नभएको उक्त विवरणमा के हेर्ने ?
चुक्ता पुँजी, नाफा, प्रतिसेयर आम्दानी र पिइ रेसियोका आधारमा कुन बैंकको सेयर आकर्षक होला ? बजारमा अहिले बढी नाफा भएको र चुक्ता पुँजी कम भएको सेयरलाई आकर्षक मानिन्छ। यही आधारमा सर्वसाधारणले सेयर किन्ने गरेका छन्। गत वर्षको नाफाका आधारमा बंगलादेश बैंक सबैभन्दा अगाडि छ। यो बैंकको नाफा खराब कर्जा असुलीबाट भएको हो। सेयर बजारको आकर्षणका आधारमा निरन्तर नाफामा अगाडि भएका बैंक स्टयाण्डर्ड चार्टर्ड र नबिल बैंक हुन्।

चुक्ता पुँजी सबैभन्दा बढी भएको बैंक कृषि विकास बैंक हो। यसले सर्वसाधारणलाई सेयर बिक्री गरेको छैन। प्रतिसेयर आम्दानीका आधारमा नेपाल बैंक सबैभन्दा राम्रो बैंक बनेको छ। यो बैंकको सेयर खरिद-बिक्री स्थगित छ। पिइ रेसियो न्यून भएकोले बंगलादेश बैंकको सेयर आकर्षक छ।

नेपाल धितोपत्र दलाल संघका अध्यक्ष नन्दकिशोर मुन्दडाले यस्ता आधार हेर्ने लगानीकर्ता १० प्रतिशत मात्रै रहेको बताए। 'बैकिङ क्षेत्रको ज्ञान भएका लगानीकर्ताले पैसा सेयरमा लगाउनुअघि विश्लेषण हेर्ने गरेका छन' उनले भने। मुन्दडाले हकप्रद र बोनस सेयरका लागि बैंकको चुक्ता पुँजी र प्रतिसेयर आम्दानी हेर्नुपर्ने सुझाव दिए।

अन्तराष्ट्रिय बजारमा पिई रेसियोलाई सेयरमा लगानीका लागि प्रमुख आधार मान्ने गरिएको छ। 'पुँजीको स्थायित्व भएका मुलुकमा पिई रेसियो प्रमुख आधार हुन्छ' मुन्दडाले भने-'नेपालमा पुँजीको आकार परिवर्तन भैरहने भएकोले यसलाई लगानीकर्ताले त्यति वास्ता गरेका छैनन।' पीई रेसियोले सामान्यतया सेयरको चलेको मूल्य महागो हो कि सस्तो भन्ने संकेत गर्छ।

सेयरमा लगानीका लागि बैंकहरुको पुँजीकोष र कर्जा निक्षेप अनुपात हेर्नुपर्ने सुझाव एस डेभलपमेन्ट बैंकका प्रमुख कार्यका अधिकृत सिद्वान्तराज पाण्डेले दिए। उनले
पिइ रेसियो उच्च भएको आधारमा मात्रै कम्पनीको सेयर नराम्रो नहुने बताए। व्यवस्थापन, सञ्चालक सहित कम्पनीको भविष्य हेर्नुपर्ने सुझाव पाण्डेले दिए।

बैंकले सञ्चालन नाफालाई आधार मान्नुपर्ने सुझाव पाण्डेको छ। 'विगतको खराव कर्जा असुल्ने, कर्जा नोक्सानी व्यवस्थाको रकम फिर्ता गर्ने र जग्गा बिक्री ग नाफा कमाएको अवस्थालाई लगानीकर्ताले सकारात्मक मान्न हुँदैन' उनले भने। गैर सञ्चालन नाफा कम्पनीका लागि दिगो हुँदैन।

स्टयाण्डर्ड चार्टर्ड बैंकका सञ्चालक अर्जुनवन्धु रेग्मीले लगानीका लागि चुक्ता पुँजी र कार्यसम्पादन पहिलो प्राथमिकतामा रहेको बताए। 'अब कम्पनीको पुँजी बढै गएकोले कम्पनीको अन्य अवस्था हेर्नुपर्छ' उनले भने। छोटो अवधिका लागि सेयर किन्दा वित्तीय अवस्थाको विश्लेषण नगरेपनि लामो अवधि र धेरै मूल्य पर्ने सेयरका खरिद गर्दा कम्पनीको वित्तीय अवस्थाको विश्लेषण गर्नुपर्ने सुझाव रेग्मीले दिए।

प्रतिसेयर आम्दानीले कुन कम्पनीले पुँजी कति चुस्त ढंगले परिचालन गरेको छ भन्ने देखाउँछ। यस हिसाबले नेपाल बैंक अगाडि देखिएको छ। यसको चुक्ता पुँजी नै कम भएको र कमाएको नाफा अधिकाँश खराब कर्जा असुलीबाट भएको हो।

Source:[http://nagariknews.com/economy/share-market/4256-2009-08-23-04-04-44.html]


(कमेन्ट पोस्ट गर्नुहोस)

अर्थमन्त्रीले नै गरेनन् पेस्की फस्र्योट


एक सय २१ सभासद्ले नयाँ संविधानका लागि सुझाब संकलन गर्न जाँदा बुझेको पेस्की पाँच महिना बितिसक्दा पनि फर्स्योट गरेका छैनन्


खगेन्द्र पन्त/नयाँ पत्रिका


नयाँ संविधानका लागि पहिलो चरणमा जनताको सुझाब संकलन गर्न जिल्ला जाँदा संविधानसभा सचिवालयबाट बुझेको पेस्की सयभन्दा बढी सभासद्ले अझै फस्र्योट गरेका छैनन् ।

समयमै पेस्की फर्स्योट नगर्नेमा अर्थमन्त्री सुरेन्द्र पाण्डेसमेत छन् । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरे, माओवादी नेता शालिकराम जमरकट्टेल एवं पूर्वअर्थमन्त्रीद्वय डा. रामशरण महत र डा. प्रकाशचन्द्र लोहनी पनि पेस्की फस्र्योट नगर्नेको सूचीमा छन् । आर्थिक कार्यविधि नियमावली ०६४ मा भ्रमणबाट फर्किएको ३५ दिनभित्र पेस्की फस्र्योट गर्नुपर्ने व्यवस्था छ । तर, मन्त्री, दलका नेता र सभासद्हरूले नियमावली लत्याउँदै तीन महिना बित्दासमेत पेस्की फर्स्योट गरेका छैनन् ।

नियमावलीमा समयभित्र पेस्की फस्र्योट नगर्नेबाट दस प्रतिशत ब्याजसमेत लगाई असुलउपर गरिने उल्लेख छ । सचिवालयले भने पेस्की फस्र्योटका लागि कुनै चासो देखाएको छैन । 'म्यादभित्र फाँटवारी पेस नगरी म्याद नाघेपछि पेस्की फर्स्योटका निमित्त फाँटवारी पेस हुन आएमा म्याद नाघेको अवधिको निमित्त बाँकी पेस्की रकममा दस प्रतिशत ब्याजसमेत लगाई असुल गरिनेछ,' नियमावलीको नियम ७५ मा उल्लेख छ ।

नयाँ संविधानका लागि जनताबाट पहिलो चरणको सुझाब संकलन गर्न सभासद्हरू गत वर्षको फागुन दोस्रो साताबाट जिल्ला गएका थिए । जिल्ला जाँदा हरेक सभासद्ले साढे २४ दिनको भ्रमणभत्ता, आवास र खाना खर्चबापत संविधानसभा सचिवालयबाट एकमुष्ट ४१ हजार ५० रुपैयाँका दरले पेस्की बुझेका थिए ।

संविधानसभा अध्यक्ष, उपाध्यक्ष, प्रधानमन्त्री र मन्त्रीहरूबाहेकका पाँच सय ७४ सभासद् ४० टोलीमा बाँडिई सुझाब संकलनका लागि ७५ वटै जिल्ला पुगेका थिए । सुझाब संकलनका क्रममा सभासद्हरूको भ्रमणभत्ता, आवास र खाना खर्चमा मात्रै सरकारी ढुकुटीबाट दुई करोड ३५ लाख ६२ हजार सात सय खर्च भएको छ । उनीहरू चैतको पहिलो साता सुझाब लिई काठमाडौं र्फकेका थिए ।

सचिवालयको तथ्यांकअनुसार पेस्की फस्र्योट नगर्ने एक सय २१ सभासद्मध्ये जिल्ला जाँदा बुझेको ४१ हजार ५० रुपैयाँ पूरै फर्स्योट नगर्नेमा ४२ सभासद् छन् । अहिलेका अर्थमन्त्री तथा एमाले संसदीय दलका उपनेता सुरेन्द्र पाण्डे, कांग्रेस उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरे, पूर्वअर्थमन्त्रीद्वय डा. रामशरण महत र डा. प्रकाशचन्द्र लोहनी, माओवादी नेता शालिकराम जमरकट्टेल, धर्मशिला चापागाईं, कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी र एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी यही सूचीमा पर्छन् । उनीहरूले पेस्की फस्र्योट गर्नेतर्फ ध्यानै नदिएको सचिवालयले जनाएको छ ।

त्यस्तै, ८१ सभासद्ले पूरै पेस्की फस्र्योट गरेका छैनन् । बहालवाला तीनजना मन्त्री पनि पूरै पेस्की फस्र्योट नगर्नेको सूचीमा छन् । स्वास्थ्यमन्त्री उमाकान्त चौधरीको ३५ हजार, ऊर्जामन्त्री डा. प्रकाशशरण महतको १५ हजार तीन सय र संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री डा. मीनेन्द्र रिजालको आठ हजार ६ सय ८५ रुपैयाँ पेस्की फस्र्योट गर्न बाँकी रहेको संसद् सचिवालयले जनाएको छ ।

पूरै पेस्की फस्र्योट नगर्नेको सूचीमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, माओवादी नेता दीनानाथ शर्मा, तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठी, नेकपा एकीकृतका परी थापा, सभासद्हरू प्रतिभा राणा, आरजु देउवालगायत छन् ।

सचिवालयको लेखा शाखाका अनुसार पूरै फस्र्योट नगरेका केही सभासद्हरूले भने फस्र्योट गर्न बाँकी रकम आफ्नो तलबबाट कट्टा गरिदिन भनेका छन् । संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले पेस्की अर्थमन्त्रीले नै गरेनन् पेस्की फस्र्योट गर्न बाँकी रहेका सभासद्हरूलाई ताकेता गरिएको बताए । 'सचिवालयले सबै टोलीलाई पेस्की रकम फस्र्योट गर्न बारम्बार भनेको छ, धेरै माननीयज्यूले फस्र्योट गरिसक्नुभएको छ, केहीको बाँकी छ,' प्रवक्ता शर्माले नयाँ पत्रिकासित भने ।

पेस्की फस्र्योट नगर्ने सभासद् र रकमको विवरण

१) सुरेन्द्र पाण्डे (अर्थमन्त्री) ४१,०५०

२) रामचन्द्र पौडेल ४१,०५०

३) डा. रामशरण महत ४१,०५०

४) डा. प्रकाशचन्द्र लोहनी ४१,०५०

५) लक्ष्मणप्रसाद घिमिरे ४१,०५०

६) शालिकराम जमरकट्टेल ४१,०५०

७) श्यामसुन्दर गुप्ता ४१,०५०

८) खोभारी राय ४१,०५०

९) केशवकुमार बुढाथोकी ४१,०५०

१०) भानुभक्त जोशी ४१,०५०

११) धर्मशिला चापागाईं ४१,०५०

१२) नन्दनकुमार दत्त ४१,०५०

१३) विश्वदीप लिङ्देङ लिम्बू ४१,०५०

१४) जया घिमिरे ४१,०५०

१५) रामवती चौधरी ४१,०५०

१६) मृगेन्द्रकुमारसिंह यादव ४१,०५०

१७) महेन्द्र पासवान ४१,०५०

१८) सेवकीदेवी दास तक्मा ४१,०५०

१९) शत्रुघनप्रसादसिंह कोइरी ४१,०५०

२०) रामरति राम ४१,०५०

२१) राजलाल यादव ४१,०५०

२२) राजकिशोर यादव ४१,०५०

२३) विजयकुमार यादव ४१,०५०

२४) सुनिताकुमारी महतो ४१,०५०

२५) मोहनबहादुर खत्री ४१,०५०

२६) लक्ष्मी परियार ४१,०५०

२७) दुर्गादेवी पासवान ४१,०५०

२८) महेन्द्रप्रसाद यादव ४१०५०

२९) लक्ष्मण महतो ४१,०५०

३०) दुर्गा परियार ४१,०५०

३१) खोभारी राय ४१,०५०

३२) महेशप्रसाद यादव ४१,०५०

३३) इन्द्रमति यादव ४१,०५०

३४) सञ्जयकुमार साह ४१,०५०

३५) सरोजकुमार यादव ४१,०५०

३६) सुदर्शन बराल ४१,०५०

३७) पुरन रानाथारू ४१,०५०

३८) रामकुमार राय ४१,०५०

३८) धर्मराम विक ४१,०५०

३९) शंकरबहादुर खड्का ४१,०५०

४० गोविन्द चौधरी ४१,०५०

४१) रामबहादुर थापा मगर ४१,०५०

४२) चन्दा देवी ४१,०५०

४३) उमाकान्त चौधरी ३५,०००

४४) डा. मीनेन्द्र रिजाल ८,६८५

४५) डा. प्रकाशशरण महत १५,३००

Source:[http://www.nayapatrika.com/newsportal/cover_story/5122.html]

एमालेमा तेस्रो समूहको उदय

तिलक पाठक, काठमाडौं, भदौ ७- सत्तारूढ नेकपा एमालेमा अध्यक्ष झलनाथ खनाल र स्थायी कमिटी सदस्य केपी शर्मा ओलीबीचको विवाद चर्किंदै जाँदा पार्टीमा तेस्रो समूह पनि बन्न थालेको छ। पार्टीका वरिष्ठ नेता माधव नेपाल प्रधानमन्त्री बनेपछि बन्न थालेको तेस्रो धारले बिस्तारै आकार लिँदै गएको छ।
अध्यक्ष खनाल र नेता ओलीमध्ये कुनै एकको सल्लाहमा भन्दा पनि दुवै पक्षलाई समन्वय गर्दै अघि बढ्ने क्रममा प्रधानमन्त्री नेपालको छुट्टै समूह बन्दै गएको हो।

पार्टीमा अहिले खनाल, नेपाल र ओलीको तीन समूह स्पष्ट रूपमा देखिन थालेको छ।

पार्टीको बुटवलमा भएको आठौं अधिवेशनमा पूर्व महासचिव नेपालले ओलीलाई समर्थन गरेका थिए। त्यसले केन्द्रीय कमिटीमा नेपाल-ओली पक्षको बहुमत बन्न पुगेको हो।

नेपालको समर्थन पाउँदा-पाउँदै पनि ओली अध्यक्ष पदमा विजयी भने हुन सकेनन्। महाधिवेशनदेखि नै नेपाल-ओली गठबन्धन रहँदै आएको हो। त्यसैको परिणामस्वरूप नेपाल प्रधानमन्त्री समेत बन्न पुगे।

प्रधानमन्त्री बनेपछि उनलाई खनाल र ओली दुवैले दबाब दिन थाले। गठबन्धन बनाउने भूमिकाका कारण ओली प्रधानमन्त्री नेपाल आफू अनुसार चल्नुपर्ने भन्दै 'सल्लाह' दिन थाले।

यता अध्यक्ष खनालले पार्टीको सिफारिस र निर्णयमा नेपाल प्रधानमन्त्री भएकाले आफनो निर्णय मान्नुपर्ने दबाब दिन थाले। पार्टीबाट क-कसलाई सरकारमा पठाउने भन्ने विषयमा समेत विवाद बढ्यो। अन्ततः तीनै समूहको २/२ जनाको दरले मन्त्रिपरिषद्मा सहभागी गराइयो।

त्यसयता प्रधानमन्त्री नेपालको निर्णयमा खनाल र ओली दुवै हाबी हुन खोजे। तर, प्रधानमन्त्री नेपाल कुनै एक नेताको रायसल्लाह मात्रै मान्ने पक्षमा रहेनन्। उनी दुवै पक्षलाई समन्वय गर्दै अघि बढ्ने प्रयासमा छन्। उनको कार्यले दुवै पक्ष सन्तुष्ट छैनन्।
महाधिवेशनमा ओलीलाई समर्थन गरेका नेपाल पक्षका नेताहरू विस्तारै पुरानै समूहमा गोलबन्द हुन थालेका छन्। नेपाल समूहको संख्या बिस्तारै बढ्दै जाने उनी निकट नेताहरू बताउँछन्।

पार्टीभित्रको तीन समूहलाई हेर्दा अध्यक्ष खनालका पक्षमा धेरै संख्या देखिन्छ। यद्यपि नेपाल र ओली एक ठाउँमा उभिँदा भने खनाल अल्पमतमा नै पर्ने स्थिति छ। यसअघि पनि नेपाल र ओली एक ठाउँमा रहेका कारण नै अध्यक्ष खनाल अल्पमतमा रहेका हुन्। महाधिवेशनलगत्तै संस्थापन पक्ष स्थायी र केन्द्रीय कमिटीमा अल्पमतमा रहयो। जसका कारण लामो समयसम्म पनि पार्टीका बैठक हुन सकेनन्। त्यसपछि भएको पोलिटब्युरोको चुनावमा पनि संस्थापन पक्ष बहुमत बन्न सकेन। यसले गर्दा पार्टीका केन्द्रीय निकायबाट निर्णय गराउन संस्थापन पक्षलाई हम्मे-हम्मे पर्न थाल्यो।

त्यसैबीच, जेठ २९ को मध्यरातमा केन्द्रीय कमिटी बैठकको अन्तमा खनालले नेता भरतमोहन अधिकारीलाई स्थायी कमिटी सदस्य बनाए। संस्थापनको विपक्षका प्रभावशाली नेताहरू हिँडिसकेको स्थितिमा बाँकी रहेका नेताहरूले मात्रै अध्यक्ष खनालको निर्णय रोक्न सकेनन्। वास्तवमा स्थायी कमिटीमा आफनो बहुमत पुर्‍याउने उपायस्वरूप खनालले यो कदम उठाएका थिए।

त्यसअघि ११ सदस्यीय केन्द्रीय कमिटीमा अनुशासन आयोगका अध्यक्ष अमृत बोहराको मतदान अधिकार थिएन। बाँकी १० सदस्यमध्ये संस्थापन पक्ष र नेपाल-ओली पक्षमा ५/५ जना थिए। अध्यक्षले बराबर भएको स्थितिमा मात्र मतदान गर्ने भएकाले संस्थापन पक्ष अल्पमतमा पर्दै आएको थियो। अधिकारीको मनोनयनपछि स्थायी कमिटीमा संस्थापन पक्षको नेपाल-ओलीभन्दा एक सिट बढी हुन गएको छ।

यता ३९ सदस्यीय पोलिटब्युरोमा खनालको पक्षमा १६ जना छन् भने ओलीको पक्षमा ८ र नेपालको पक्षमा ६ जना छन्। त्यस्तै संस्थापन र नेपाल दुवैको पक्षमा निकटता देखाउनेको संख्या ५ रहेको छ।

यसमा अधिकांश नेपाल पक्षकै छन्। कथंकदाचित समूहमा स्पष्ट विभाजित हुने स्थिति आए खनाल-नेपाल समूहका अधिकांश ब्यक्ति नेपालतिर लाग्ने स्रोत बताउँछ। नेपाल र ओली दुवैतिर निकट देखिनेको संख्या भने थोरै छ। पोलिटब्युरोमा नेपाल-ओली पक्षमा चार नेता देखिएका छन्। (विस्तृत हेर्नुस् बक्समा) यस हिसाबले पनि नेपाल र ओली एकै ठाउँमा उभिँदा पोलटब्युरोमा समेत संस्थापन पक्ष अल्पमतमा पर्ने सम्भावना देखिन्छ।

केन्द्रीय कमिटीमा पनि संस्थापन पक्षको स्थिती उस्तै छ। १ सय १७ सदस्यीय केन्द्रीय कमिटीमा संस्थापन पक्षमा ५५ जना मात्रै देखिएका छन्। बाँकी केन्द्रीय सदस्यहरू ओली र नेपाल पक्षमा छन् भने खनाल-नेपाल पक्षमा रहेका केन्द्रीय सदस्यहरू स्पष्ट गुट विभाजनको स्थितिमा नेपालतिर लाग्ने सम्भावना छ।

कुनै विवादलाई मतदानबाट टुङ्ग्याउनुपर्ने स्थिति आएमा पनि संस्थापन पक्षको बहुमत हुने स्थिति छैन। केन्द्रीय कमिटीका ८६ सदस्यलाई मात्र मतदानको अधिकार छ।

अनुशासन आयोग अध्यक्ष अमृत बोहरा र वैकल्पिक केन्द्रीय सदस्यहरूलाई मतदानको अधिकार छैन। मतदान अधिकार भएकामध्ये संस्थापन पक्षमा ३७ जना मात्रै छन्। यसमध्ये ओली पक्षमा २३, नेपाल पक्षमा १३, खनाल-नेपाल पक्षमा ९ र नेपाल-ओली पक्षमा ४ जना छन्। खनाल-नेपाल पक्षमा रहेका अधिकांश नेपाल निकट छन्।

नेपाल र ओली एकैतिर लागेर पार्टीमा आफूहरूलाई अप्ठ्यारो पार्न सक्ने कुराबाट संस्थापन पक्ष सशंकित छ। त्यसैले हुन सक्छ, पार्टीका महत्वपूर्ण पद संस्थापन पक्ष आफैले राखेको छ। तर, संस्थापन पक्षको यो कार्यशैलीले दुवै पक्ष आक्रोशित छन्।

सर्वसम्मत हिसाबले कार्यविभाजनको प्रस्ताव आउनुपर्नेमा आग्रह र पूर्वाग्रही हिसाबले कार्यविभाजन गरिएको ती नेताहरूको भनाइ छ। 'पार्टीको आवश्यकता र कार्यकर्ताको इच्छाअनुसारभन्दा पनि आग्रह र पूर्वाग्रहका आधारमा कार्यविभाजन गरियो,' ओली पक्षधर एक नेताले भने।

कार्यविभाजन अनुसार अध्यक्ष खनाललाई संसदीय बोर्ड र स्कुल विभागको जिम्मेवारी छ। उपाध्यक्ष अशोक राईलाई संगठन विभाग, उपाध्यक्ष वामदेव गौतमलाई कृषि तथा भूमिसुधार, महासचिव ईश्वर पोखरेललाई प्रचारप्रसार विभागको जिम्मेवारी छ। यी सबै नेता संस्थापन पक्षका हुन्।

'सबै जिम्मेवारी अध्यक्ष र महासचिवलगायतका पदाधिकारीले नै राख्ने हो भने त्यो कसरी सामूहिक प्रणाली भयो ?' ती नेताले प्रश्न गरे, 'अध्यक्ष र महासचिवलाई किन विभाग चाहियो ?' महाधिवेशनमा विचारभन्दा पनि ब्यक्तिका आधारमा प्रतिस्पर्धा हुँदा गुट हावी भएको नेताहरूको भनाइ छ।


Source:[http://nagariknews.com/politics/party-politics/4250-2009-08-23-03-01-11.html]

माओवादी नेताहरु देश दौडाहामा

किरण पुन, काठमाडौं, भदौ ७- प्रमुख प्रतिपक्षी एकीकृत माओवादीको केन्द्रीय समितिको बैठकपछि कार्यकर्तासम्म एकताको भाव पुर्‍याउने भन्दै शीर्ष नेताहरुको जम्बो टोली देश दौडाहामा छ। अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षत्रय मोहन बैद्य, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, सचिवद्वय चन्द्रप्रकाश गजुरेल र पोष्टबहादुर बोगटी राज्य समितिस्तरीय प्रशिक्षण दिन राजधानीबाहिर ब्यस्त छन्।
गत मंसिरमा सम्पन्न खरिपाटी राष्ट्रिय कार्यकर्ता भेला र माओवादी-एकताकेन्द्र मसालसाग एकीकरणपछि देशव्यापी प्रशिक्षण राखिएको पार्टीले जनाएको छ। खरिपाटीदेखि चुलिएको अध्यक्ष दाहालको संस्थापन र मोहन बैद्य गुटबीचको 'दूरी' मेट्न र पार्टी एकीकरणपछि कार्यकर्ताबीचको भावनात्मक एकता कायम गर्न दौडाहा थालिएको हो।

'केन्द्रीय समितिको निर्णय कार्यकर्तासम्म पुर्‍याउन र पार्टीभित्र वैचारिक एकरुपता कायम गर्न र त्यस्तो भावलाई तलैसम्म सम्प्रेषण गर्न देशव्यापी प्रशिक्षण थालिएको हो,' प्रवक्ता दीनानाथ शर्माले नागरिकसँग भने।

गत साउन पहिलो साता सम्पन्न बैठकमा संस्थापन र मोहन बैद्य समूहबीच जनविद्रोहको बाटोमा जाने वा अहिलेकै कार्यनीतिलाई सदर गर्ने भन्ने विषयमा चर्को बहस भएको थियो। मोहन बैद्य गुटमा सचिव चन्द्रप्रकाश गजुरेल मात्र छन्। खरिपाटी राष्ट्रिय कार्यकर्ता भेलामा पनि अध्यक्ष दाहाल र मोहन बैद्यको फरक मत मिसाएर प्रतिवेदन पारित गरिएको थियो।

प्रशिक्षण एकता केन्द्र-मसालसितको एकतापछिको भावनात्मक एकताभन्दा पनि दाहाल र वैद्य गुटबीचको संघर्षले बनाएको दरार मेटाउनतिर केन्द्रित रहेको एक केन्द्रीय नेताले बताए। दुई गुटको चर्को विवाद तलसम्म पनि पुगेको छ। एक गुटले अर्को गुटलाई पछार्ने आन्तरिक खेलले माओवादीलाई घाटा पुर्‍याएको ती नेताले बताए। 'सकेसम्म सातैजना पदाधिकारी जाने भनेका छौं,' प्रवक्ता शर्माले भने, 'जरुरी काम परेरै कतिपय प्रशिक्षणमा सबै जान सकेका छैनन्।'

केन्द्रीय बैठकलगत्तै नेवाः र ताम्सालिङ राज्य समितिको काठमाडौंमा र पोखरामा तमुवान र मगरात राज्य समितिको प्रशिक्षण सम्पन्न भएका थिए।

पोखरा प्रशिक्षणलगत्तै गत साउन २४ मा सपरिवार युरोप गएर अध्यक्ष दाहालले बेल्जियम र बेलायतका कार्यकर्तालाई प्रशिक्षण दिएका थिए। दाहालको एक साता लामो युरोप भ्रमणलगत्तै धरानमा किराँत, लिम्बुवान र कोचिला राज्य समितिको प्रशिक्षण सम्पन्न भएका छन्।

यसैगरी, शुक्रबार मात्र मधेस राज्य समन्वय समिति अन्तर्गतका अबध, भोजपुरा र मिथिला राज्यको प्रशिक्षण सकिएको छ। आइतबार नेपालगन्जमा थारुवान्, भेरी-कर्णाली र सेती-महाकाली तीन राज्य समितिको प्रशिक्षणपछि माओवादीको राज्य समितिस्तरीय प्रशिक्षण सकिने छ।

भारतमा क्रियाशील माओवादी कार्यकर्तालाई प्रशिक्षण दिएपछि प्रशिक्षण सकिने विदेश विभाग प्रमुख कृष्णबहादुर महराले जानकारी दिए।


source:[http://nagariknews.com/politics/party-politics/4247-2009-08-23-02-49-56.html]

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by