बच्चु विक/महेन्द्रनगर (नयाँ पत्रिका)
वन्यजन्तु चोरी-सिकारी तीव्र हुँदै गएपछि शुक्लाफाँटा वन्यजन्तु आरक्षमा 'स्विपिङ' गरिएको छ । चार दिनसम्म गरिएको 'स्विपिङ'मा वन्यजन्तु मार्न राखिएका पासो मात्रै भेटिएका छन् । आरक्षमा वर्षमा एकपटक स्विपिङ गरिन्छ । आरक्षभित्र ठूलो मात्रामा तस्करी तथा चोरी-सिकारी भइरहेको सुराक पाएपछि पनि स्विपिङ गर्ने गरिन्छ । 'स्विपिङ' गर्दा आरक्षका लागि खटिएको नेपाली सेना र आरक्ष कर्मचारी सम्भावित क्षेत्रमा पैदल 'सर्च' गर्ने गर्छन् । चारैतिरबाट सेना र आरक्ष कर्मचारीले घेरा साँघुरो पार्दै एकै ठाउँमा पुग्ने गरेको शुक्लाफाँटा वन्यजन्तु आरक्षका निमित्त प्रमुख संरक्षण अधिकृत (वार्डेन) चन्द्रबहादुर चन्दले बताए । मंसिर दोस्रो साता दुई दिन पूर्वी क्षेत्र र दुई दिन दक्षिणी सीमा क्षेत्रमा गरी चार दिन स्विपिङ गरिएको आरक्षले जनाएको छ । आरक्षका निमित्त वार्डेन चन्द र आरक्ष सुरक्षार्थ खटिएको चण्डीप्रसाद गण मझगाउँका गणपति टेकबहादुर चन्दको नेतृत्वमा स्विपिङ भएको थियो ।