गोकर्ण अवस्थी-काठमाडौ, २०६६ आश्विन २९ - अस्ट्रेलियाका दुई सय धनीमध्येका एक नेपाली शेष घलेले नेपालमा ५ अर्ब रुपैयाँ बराबरको परियोजनामा लगानी गर्ने भएका छन् । उनले राजधानीको कान्तिपथमा पाँचतारे डिलक्स होटलसहितको मल्टिप्लेक्स निर्माण गर्ने बताए । 'जग्गा लिइसकेका छौं,' उनले भने, 'कानुनी प्रक्रिया पूरा भइसकेकाले छिट्टै काम सुरु हुन्छ ।' उनी अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्ने इन्स्िटच्युट र कमर्सियल प्रोपर्टीको व्यवसाय गरिरहेका छन् । स्नातकोत्तरसम्म पढाइ हुने उनका सिडनी र मेलबर्नमा इन्स्िटच्युट छन् । '२०२० सम्म विश्वविद्यालय बनाउने तयारीसाथ अगाडि बढिरहेका छौं,' उनले भने । उनको अर्को व्यवसाय भने एमआईटी होल्डिङ अस्ट्रेलियाको नामबाट सञ्चालित छ । 'नेपालमा पनि त्यसैको होल्डिङ -शाखा) कम्पनी स्थापना गरी व्यवसाय गर्दैछौं,' उनले भने । चार वर्षमा परियोजना निर्माण भइसक्ने उनको अनुमान छ ।