नेत्र पन्थी/काठमाडौं (नयाँ पत्रिका)
एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले भारतसँग वार्ता गर्न औपचारिक रूपमै पाँच एजेन्डा अघिसारेका छन् । प्रचण्डका पाँच बुँदाबारे आफ्नो सरकारको धारणा ल्याउन भारतीय राजदूत राकेश सुद आइतबार दिल्ली उडेका छन् । आइतबार अपराह्न नयाँदिल्ली प्रस्थान गर्नुअघि राजदूत सुदले नयाँबजार पुगी माओवादी अध्यक्ष प्रचण्डसँग एक घन्टा छलफल गरेका थिए । बिहान नौ बजे भेटवार्ता सकिएपछि सुद ११ बजे विमानस्थल पुगेका थिए । प्रचण्डलाई भेटको समय मिलाउन सुदले शुक्रबार फोन गरेका थिए । उनकै अनुरोधमा आइतबार बिहानको समय मिलाइएको माओवादी स्रोतले जनाएको छ । प्रचण्डलाई भेट्न सुद आइतबार बिहान आठ बजे नयाँबजार पुगेका थिए । दूध र चिनीको गिलासमा चियापत्ती (टी-ब्याग) चोपेर सुरु भएको वार्ता करिब एक घन्टा चलेको थियो ।