राजकुमार कार्की/सिन्धुली (कान्तिपुर) -
माओवादी सचिव सीपी गजुरेलले जनविद्रोहको संभावना बढ्दै गएको बताएका छन् । सरकार पञ्चायती शैलीमा प्रस्तुत भएकाले जन बिद्रोहको संभावना बढ्दै गएको उनको ठहर छ । क्रान्तिकारी पत्रकार संघले शनिबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले माओवादीको माग पूरा हुने कुनै संकेत नदेखिएकाले एउटा जनबिद्रोह सम्पन्न गरेको पार्टी नचाहदा नचाहदै अर्को बिद्रोहमा जानुपर्ने बाध्यता आइपरेको बिष्लेषण गरे । माओवादीले उठाएको नागरिक सर्वोच्चता र राष्ट्रपतिको कदम सच्चिने संकेत नदेखिएकाले देश मुठभेडमा जाने समेत उनले बताए । माओवादी जिम्मेबार पार्टी भएकाले अहिलेनै मुठभेड र बिद्रोहमा नजाने तर सरकारको रबैयाका कारण परिस्थितिले त्यतै मोड लिएको समेत उनको भनाइ थियो । कांग्रेस र एमाले संविधानसभा बिघटन गराउने खेलमा लागेको सचिव गजुरेलले आरोप लगाए । संविधानसभा बिघटन गर्ने र आयोग गठन गरि संविधान बनाउने खेलमा कांग्रेस र एमाले लगायत सरकारवादी पार्टी लागेका उनले ठोकुवा गरे ।